अमेरिकी नागरिकको रोल्पा प्रेमः हरेक वर्ष लाखौं छात्रवृत्ति

(महेश न्यौपाने/रोल्पा)

२०७५ असोज २७ गते २०:३२मा प्रकाशित

विद्यावारिधिका लागि सोधपत्र तयार गर्दा रोल्पाको थवाङ लामो समय बसेकी अमरिकी नागरिक डा. अगस्ता मोनलारले विगत लामो समय देखि रोल्पाका गरिब जेहेन्दार विद्यार्थीलाई वर्षेनी  छात्रवृत्ति वितरण गर्दै आएकी छन् ।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान काठमाडांै मार्फत् २०६५ सालदेखि हरेक वर्ष नियमित रुपमा उपलव्ध गराएको छात्रवृत्तिले रोल्पाका हजारौं विद्यार्थी लाभान्वित भएको बताइएको छ ।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानको तर्फवाट प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी आफै उपस्थित भएर यस वर्षको गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गरे ।

जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गरिरहेका १०५ जना विद्यार्थीलाई उक्त छात्रवृत्ति रकम वितरण गरिएको थियो । प्राथमिक तहमा अध्ययनरत विद्यार्थीका  लागि २ हजार ४ सय, निमावि तहका लागि ३ हजार ६ सय, मावि तहका लागि ४ हजार ८ सय , दश जोड दुईका लागि ६ हजार र प्राविधिक शिक्षा तर्फ २० हजार प्रति विद्यार्थीका दरले छात्रवृत्ति बितरण गरेको विकास सरोकार समाज रोल्पाका अध्यक्ष कर्ण बाठामगरले जानकारी दिए ।

‘छात्रवृत्ति छनौटका लागि गठित समितिको सिफारिसमा छात्रवृत्ति बितरण गर्दै आएका छौं’ अध्यक्ष वाँठामगरले भने, ‘छात्रवृत्ति स्वरुप हरेक वर्ष ५ लाख वढि वितरण गर्दै आएका छौं’ २०६५ साल यता झण्डै १ हजार विद्यार्थीका लागि ४५ लाख वढि छात्रवृत्ति बितरण भइसकेको अध्यक्ष बाँठाले जानकारी दिए ।
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले अझै पनि गरिब विपन्न परिवारलाई शिक्षा आर्जनमा आर्थिक समस्या हुँदैै आएकाले छात्रवृत्तिले केही सहयोग पुग्ने आशा व्यक्त गरे ।

‘अमेरिकी नागरिक डा अगस्ता मोनलारले रोल्पाली विद्यार्थी प्रति देखाएको सहयोग र सद्भावले जिल्लाको शैक्षिक विकासमा ईटा थप्न सहयोग गरेको छ’, मन्त्री चौधरीले भने । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले रोल्पालाई छनौट गरि छात्रवृत्ति उपलव्ध गराउनु सकारात्मक रहेको बताउदै छात्रवृत्ति संख्या र वजेट समेत थपका लागि आफुले  पहल गर्ने मन्त्री चौधरीको भनाई छ ।

सोही छात्रवृत्तिबाट अध्ययन गरेका मध्य १ दर्जन पूर्व विद्यार्थी हाल नेपाल सरकारको वन, स्वास्थ्य, शिक्षा तथा अन्य सेवामा प्रवेश गरि स्थायी कर्मचारीको रुपमा कार्यरत रहेको सो अवसरमा जानकारी गराइएको थियो । पछिल्लो पटक जिल्लामा प्राविधिक शिक्षा अध्ययनमा आकर्षण देखिन थालेको औल्याउदै त्यसका लागि छात्रवृत्ति रकम थप गरे गरिव विपन्न विद्यार्थीलाई राहत पुग्ने अभिभावकहरुले अपेक्षा गरेका छन् ।

स्थानीय साझेदारको रुपमा जिल्लामा कृयाशील गैर सरकारी संस्था डिकोस रोल्पाले समन्वय गरिरहेको बताइएको छ । ‘विद्यालय स्तरवाट छात्रवृत्तीको माग तथा त्यसको छनौट र टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान संगको समन्वय तथा नियमित रिपोर्टिङको काम गरिरहेका छौं’, डिकोस रोल्पाका उपाध्यक्ष श्रवण नेपालीले भने – ‘वास्तविक गरिव जेहेन्दार सम्म श्रोत पुगोस भन्ने कुरामा हामी गम्भिर छौं’  । छात्रवृत्ति सदुपयोग भए नभएको विषयमा नियमित अनुगमनको काम समेत हुने गरेको उपाध्यक्ष नेपालीले बताए ।